सामी कार्यक्रमको अपनत्व लिँदै बागमती प्रदेश सरकार
नेपालको संविधानले परिकल्पना गरेको तीन तहका सरकारबीचको सहकार्य, साझेदारी तथा नेतृत्वको अवधारणाअनुरूप सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बागमती प्रदेशमा आ.व. २०७६/७७ देखि कार्यान्वयन हुँदै आएको छ। कार्यक्रमको कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहभागिता सुनिश्चित गर्न श्रम क्षेत्र हेर्ने मन्त्रालयमार्फत आ.व. २०७६/७७ देखि सशर्त बजेट उपलब्ध हुँदै आएको छ। यसले सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम तथा सेवाहरूलाई प्रदेशस्तरमा संस्थागत गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, आ.व. २०८१/८२ देखि प्रदेश सरकारको श्रम तथा स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयसँग समेत सहकार्य गरी कार्यक्रम कार्यान्वयन भइरहेको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको अधिकार क्षेत्रभित्र संविधानको अनुसूची–७ मा उल्लेखित संघ र प्रदेशको साझा अधिकार सूचीमा रोजगारी तथा बेरोजगार सहायता सम्बन्धी विषय समावेश छ। बागमती प्रदेश सरकारको मिति २०८३ जेठ ७ गतेको निर्णयअनुसार, मिति २०८३ श्रावण १ गतेदेखि लागू हुने गरी कार्यविभाजन नियमावलीमा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत श्रम तथा रोजगारी सम्बन्धी कार्यको जिम्मेवारी यसै मन्त्रालयलाई तोकिएको छ।
श्रम तथा रोजगारी क्षेत्रअन्तर्गत वैदेशिक रोजगारीलाई समेत व्यवस्थित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले प्रदेश सरकारले श्रम तथा रोजगार नीति, २०८० तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ। यस नीतिको दीर्घकालीन सोच "श्रम बजारको सुदृढीकरण, उत्पादनमूलक रोजगारीको वृद्धि : बागमती प्रदेशको समृद्धि" रहेको छ। उक्त नीतिमा वैदेशिक रोजगारलाई सुव्यवस्थित, सुरक्षित तथा मर्यादित बनाउने उद्देश्यअनुरूप आवश्यक रणनीति तथा कार्यनीतिहरू तर्जुमा गरी कार्यान्वयनको व्यवस्था गरिएको छ।
यसै अनुरुप प्रदेश सरकारको संवैधानिक तथा कानूनी अधिकारक्षेत्रभित्र रही बागमती प्रदेश सरकारले सुरक्षित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि प्रदेश तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै विभिन्न कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्दै आएको छ। सामी कार्यक्रमअन्तर्गत सूचना तथा परामर्श सेवा तथा न्यायमा पहुँचलाई सहज, सर्वसुलभ र गुणस्तरीय बनाउन उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले आ.व. २०८१/८२ देखि प्रत्येक जिल्लास्थित आप्रवासी स्रोत केन्द्रमा एक जना सूचना तथा परामर्शकर्ताको व्यवस्था गरेको छ। यसका साथै, प्रदेशस्तरमा कार्यक्रमको समन्वय तथा प्रभावकारी सञ्चालनका लागि प्रदेश संयोजक नियुक्त गरी परिचालन गरिएको छ।
प्रदेश सरकारले आ.व. २०८०/८१ देखि नै बजेट विनियोजन गरी सुरक्षित आप्रवासनका क्षेत्रमा आवश्यक जनशक्ति परिचालन, विभिन्न कार्यक्रम तथा क्रियाकलाप सञ्चालन, साथै कम्प्युटर लगायतका आवश्यक उपकरणहरू आप्रवासी स्रोत केन्द्रहरूलाई उपलब्ध गराउँदै आएको छ। यसै क्रममा, २०८२ भदौमा भएको नवयुवा आन्दोलनका कारण क्षति पुगेका आप्रवासी स्रोत केन्द्रहरूमा सेवा प्रवाहलाई निरन्तरता दिन मन्त्रालयले तत्काल कम्प्युटर, स्क्यानर लगायतका सामग्री उपलब्ध गराएको थियो। वैदेशिक रोजगारीसम्बन्धी अत्यावश्यक सूचना तथा जानकारी नागरिकसमक्ष पुर्याउन मन्त्रालयले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी लिफलेट लगायतका सूचना सामग्री प्रकाशन तथा वितरण गर्दै आएको छ। साथै, आप्रवासी तथा फर्किएका श्रमिकहरूको आवाजलाई प्रभावकारी रूपमा उठाउन रिटर्नी सञ्जालको क्षमता विकास तथा सशक्तीकरणका कार्यहरूमा समेत सहयोग प्रदान गर्दै आएको छ।
श्रम, रोजगार तथा सुरक्षित आप्रवासनका विषयहरूको व्यवस्थापन र समन्वयलाई थप प्रभावकारी बनाउन मन्त्रालयमा श्रम तथा रोजगार महाशाखा स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। उक्त महाशाखा स्थापना नभएसम्मका लागि सामी कार्यक्रमको सम्पर्क व्यक्तिका रूपमा महाशाखा प्रमुखलाई जिम्मेवारी तोकी कार्यक्रम सञ्चालन तथा समन्वयको कार्य गरिँदै आएको छ।
प्रदेश सरकारको सोच तथा लगानीको प्रतिफल सेवा प्रदायक र सेवाग्राही दुवैमा कस्तो परेको छ भन्ने विषयमा प्रत्यक्ष रूपमा जानकारी लिन प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरूले आप्रवासी स्रोत केन्द्रहरूको अनुगमन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीहरूसँग अन्तरक्रिया गरेका छन्। यसले सुरक्षित आप्रवासन सेवाको गुणस्तर सुधारप्रति प्रदेश सरकारको चासो, प्रतिबद्धता तथा अपनत्वको भावनालाई स्पष्ट रूपमा प्रतिविम्बित गरेको छ।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका माननीय मन्त्री जयराम थापाका अनुसार सामी कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श सेवा विस्तार, न्यायमा पहुँच अभिवृद्धि, आप्रवासी स्रोत केन्द्रहरूको सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा समन्वयात्मक संरचनाको विकासमार्फत प्रदेश सरकारले यस क्षेत्रमा आफ्नो नेतृत्वदायी भूमिका स्थापित गरेको छ।
“हाम्रो मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय भए पनि कार्यभारको दृष्टिले यातायात क्षेत्रले करिब ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका कारण श्रम तथा रोजगार क्षेत्र अपेक्षाकृत ओझेलमा पर्ने अवस्था रहेको छ। तथापि, सामी कार्यक्रमको सहयोग र सहकार्यमा मन्त्रालयले श्रम, रोजगार, सुरक्षित वैदेशिक रोजगार क्षेत्रमा नीति निर्माणदेखि सेवा प्रवाहसम्म उल्लेखनीय उपलब्धि हासिल गरेको छ,” उहाँ भन्नुहुन्छ|
कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले गत आ.व.मा रु. १ करोड ४० लाख विनियोजन गरेकोमा चालु आ.व.का लागि रु. २ करोड विनियोजन गरेको छ। साथै, कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश तहमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन निर्देशिका, २०८३ तर्जुमा गरिएको छ।
प्रदेशको नीति, कार्यक्रम, बजेट तथा आवधिक योजनामा सुरक्षित वैदेशिक रोजगारीको विषयलाई प्राथमिकतापूर्वक समावेश गरिनु, नीति निर्माण तथा कार्यान्वयन तहमा सुरक्षित आप्रवासनका विषयहरू संस्थागत रूपमा अभिलेखीकरण हुनु, जनप्रतिनिधिहरूले वैदेशिक रोजगारीमा रहेका परिवार तथा रिटर्नीहरूसँग भेटघाट र अन्तरक्रिया गरी सेवा प्रवाहसम्बन्धी जनभावना बुझ्नु, तथा उद्धार र राहतका कार्यहरूमा सहयोग पुर्याउनु जस्ता प्रयासहरूले सुरक्षित वैदेशिक रोजगारीका सवालमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्दै स्वामित्व ग्रहण गरिरहेको स्पष्ट संकेत गरेको छ।
र यस्ता गतिविधिलाई निरन्तरता दिंदै लैजान प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्रालयकी महाशाखा प्रमुख तथा सामी कार्यक्रमका लागि फोकल पर्सन श्री सुनिता गजुरेल बताउनुहुन्छ| “पीडितको घाउमा मलम लगाउने कार्यमा हामीले सधैं सामी कार्यक्रमलाई अग्रस्थानमा राख्दै बजेट तथा कार्यक्रम तर्जुमा गर्ने गरेका छौँ।"
पुरूषोत्तम अधिकारी
प्रदेश व्यवस्थापक, बागमती प्रदेश